

काठमाडौँ । करिब डेढ महिना अघि तीव्र गतिमा सवारी चलाउँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान जान गरी दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई उच्च अदालत पाटनले धरौटीमा रिहा गरेको छ। यसअघि जिल्ला अदालत काठमाडौँले गरेको सवारी ज्यान मुद्दामा थुनामा पठाउने आदेशलाई उच्चले उल्टाएको हो।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो।
कात्तिक २८ गते उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। २८ गते दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका ९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका २, आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटीको उपचारको क्रममा ज्यान गएको थियो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले मंसिर २३ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।