

काठमाडौँ । पहिलोपटक आयोजना गरिएको खोखो विश्वकपमा ऐतिहासिक रेकर्ड कायम गर्दै फाइनल प्रवेश गरेको नेपाली टोली उपाधि चुम्नबाट भन्ने रोकिएको छ।
महिला र पुरुष दुवै टिम एकैपटक फाइनलमा प्रवेश गरेको नेपाली टिमले आइतबार फाइनल खेल भारतसँग खेलेको थियो । तर दुवै खेलमा नेपालले उपविजेता बनेर फर्किनु परेको छ ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो । यसअघि हिजै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अङ्कले पराजित भएको थियो ।
पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अङ्कले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अङ्कले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अङ्कले तथा चौथो खेलमा भुटानलाई ९८–८ अङ्कले हराएको थियो । नेपालले क्वाटरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अङ्कले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अङ्कले पराजित गरेको थियो।