

काठमाडौं । नेपाली खेल क्षेत्रमा ओझेलमा परिरहेको खोखो खेललाई पहिलो विश्वकपमा खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनले एकाएक चर्चामा ल्याएको छ। सेमिफाइनलमा प्रवेश गरेपछि बिस्तारै चर्चा सुरु भएको यो खेलमा नेपालले आज ऐतिहासिक रेकर्ड राख्ने प्रयास गरिरहेको छ।
महिला र पुरुषतर्फको दुवै टोली एकैपटक पहिलो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा उपाधिका लागि नेपालले भारतसँग आज फाइनल खेल खेल्दैछ।
आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८:१५ बजे सुरु हुनेछ । दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ ।
महिलातर्फ नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल पुगेका हुन् । पुरूषतर्फ भारत अपराजित रहेर फाइनल पुग्दा नेपालले भने एक खेल मात्र हारेको छ ।
आजको खेलमा भारतलाई पराजित गर्न सके नेपालले खोखो विश्वकपमा एउटा ऐतिहासिक रेकर्ड कायम गर्नेछ।