

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो ।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११÷११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले छ तथा ललित राजवंशीले चार विकेट लिए । दोस्रो इनिङमा पुलिस एक सय ३९ रनमा अलआउट भएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो इनिङमा नौ विकेट गुमाएर एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन बनाएका थिए । अर्जुन साउदले २८, अमितले २० र राशिदले १० रन बनाएका छन् ।