काठमाडौं खबर माघ २, २०८१
काठमाडौं । असफल सैनिक शासनको अभ्यास गरेका दक्षिण कोरियाका राष्ट्रपति पक्राउ परेका छन्। भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्सल ल प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको दक्षिण कोरियाका सञ्चारमाध्यमहरूले जनाएका छन्।
दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो । तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
उनले घोषणा गरेको सैनिक शासन ६ घण्टा पनि टिक्न नसकेपछि उनी विरुद्ध आफ्नै दलबाट समेत चर्को आलोचना भइरहेको थियो। यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो । त्यसयता उनी पदबाट निलम्बित अवस्थामा छन्।