काठमाडौं । साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको छ।
माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ । प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् ।
यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको सङ्घका सचिव थापामगरले बताए । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन् ।
यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन् । अस्ट्रेलियाबाट माघे सङ्क्रान्ति मनाउन परिवारसहित जन्मथलो मङ्गला गाउँपालिका–१ तुसारेपानी आउनुभएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाईसँग भेटघाट हुने अवसर जुुराएको बताए ।
माघे सङ्क्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन् ।
त्यस्तै, छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाउने गर्छन्। अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् । माघे संक्रान्तिलाई छन्त्यालहरूले महान पर्व ‘म्हिलाङे सोङ्ती’ तथा ’छार (नयाँ) म्हेङ (वर्ष)’को रुपमा मनाउने गर्दछन् । सम्वत् २०६९ पुस २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ‘माघे सङ्क्रान्ति’लाई छन्त्याल जातिको पनि राष्ट्रिय पर्व भएको निर्णय गरेर मान्यता प्रदान गरेको छ ।
माघे सक्रान्ति’ पर्वको छन्त्याल जातिसँग ऐतिहासिक, सामाजिक सांस्कृतिक सम्बन्ध रहेको छ । यस पर्वसँग यस जातिको मूख्यतः ‘पित्री पुज्ने’, ‘खानी’ (मूलतः तामाखानी), ‘तारा खेल’, ‘चेलीबेटीलाई तिला सार्ने’ आदिसँग जोडिएको छ । जुन कुरा समग्र छन्त्याल जातिको पहिचानसँग अन्तरसम्बन्धित विषय पनि हुन् ।