

काठमाडौँ । नेपालको पहाडी भेगमा चर्चित रहेको स्वस्थानी व्रतकथा आजदेखि प्रारम्भ भएको छ। काठमाडौँको मौलिक कथामा आधारित रहेको यस स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमा अर्थात् आजदेखि सुरु भएर एक महिनासम्म चल्ने गर्दछ।
स्वस्थानी देवीको पूजाआराधना गरी व्रत बस्ने र प्रत्येक दिन स्वस्थानी कथावाचन तथा श्रवण गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म काठमाडौँको साँखुमा अवस्थित साली नदी र स्वस्थानी देवीको मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।
यसैबीच माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समिति साँखुले मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएकोछ ।