काठमाडौं खबर पुस २६, २०८१
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा गत मंगलबारदेखि भएको भीषण आगलागीबाट करिब ५२ अर्ब डलरभन्दा बढी क्षति भएको आकलन गरिएको छ । निजी प्रक्षेपणकर्ता एक्यूवेदरको प्रारम्भिक प्रक्षेपणअनुसार डढेकोका कारण भएको क्षति ५२ अर्ब डलरदेखि ५७ अर्ब डलरको बीचमा छ । डढेलोले अमेरिकामा सबैभन्दा महँगो मानिएको स्थानको घरहरूसमेत जलाएर खरानी बनाएको छ । अहिलेसम्म यसमा परेर झन्डै दुई हजार घर जसिलसकेका छन् भने पाँच जनाको मृत्यु भइसकेको छ ।
जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन्। इन्टरस्टेट १५ को काजोन पासबाट सानो रुपमा स्थानीय समयअनुसार मङ्गलबार बिहान सुरु भएको जङ्गली आगो करिब २४ घण्टामा करिब ४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिए पछि वरपरका बस्तीमा समेत व्यापक क्षति भएको छ । विगतमा पनि डढेलो लाग्ने गरे पनि पहाडी क्षेत्रमा मात्र सीमित हुन्थ्यो । अहिले भने तीव्र गतिको हावाकै कारण शहरी क्षेत्रमा आगो फैलिएको बताइएको छ ।
बीबीसीका अनुसार अमेरिकामा डढेलो भयानक हुनुका पछाडि मुख्य दुई कारण छन् । पहिलो सुख्खा मौसम र दोस्रो तीव्र गतिमा चलेको हावा । बीबीसीका पर्यावरण सम्वाददाता मेट म्याकग्राथका अनुसार क्यालिफोर्नियामा केही महिनायता पानी नै परेको छैन । दिनभरको गर्मीका कारण पातपतिङ्गर सुकेका छन् । जंगलका रुखहरु पनि सुकेका छन् । त्यसले इन्धनको काम गरेको छ ।
यस मौसममा दक्षिणी क्यालिफोर्नियामा तीव्र वेगमा हावा चल्ने गर्दछ । यसलाई ‘सेन्टा ऐना विन्ड्स’ भनिन्छ । यो हावा सामान्यतया १०० देखि ११० किलोमिटर प्रतिघण्टाको वेगमा दक्षिणी क्यालिफोर्नियाबाट भित्री इलाका हुँदै समुद्री तटतर्फ अगाडि बढ्दछ । तर एक दशकयता पनि यो क्षेत्रमा खतरनाक ढंगको हावा चलेको बीबीसीले जनाएको छ ।