काठमाडौं खबर पुस २३, २०८१
काठमाडौं । आज गएको भूकम्पबाट तिब्बतमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । नेपालतर्फबाट सगरमाथा क्षेत्रमा अपसिजन भएकाले कोही पनि पर्यटक नभए पनि चीन तर्फ सगरमाथा क्षेत्रमा पर्यटक र कर्मचारी भने सुरक्षित रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ ।
तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड (भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार)को भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोक लगाएको छ। यो अहिले तत्कालका लागि लगाएको अस्थायी प्रतिबन्ध हो ।
नेपालबाट भने यस सम्बन्धमा कुनै निर्णय भएको छैन । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले पर्यटनको सिजन नभएकाले हिमाल आरोहण र सगरमाथा आधार शिविरमा पर्यटक नै नरहेको जानकारी दिए ।