काठमाडौं । प्याब्सन बुढानीलकण्ठ र हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्थानीयस्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि प्याब्सन बुढानीलकण्ठ र हिमालयन शेर्पा क्लबका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बुढानीकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ। यस पहलले स्थानीय प्रतिभाहरूलाई पहिचान गरी उनीहरूको खेलकुद कौशललाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। सम्झौतापछि जारी गरिएको विज्ञप्तिमा बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि र सहभागिता बढाउने, विद्यालयस्तरमा फुटबल प्रशिक्षण कार्यक्रममार्फत युवा प्रतिभाको पहिचान र विकास गर्ने र आवश्यक खेल सामग्री र प्राविधिक सहयोग प्रदान गर्दै फुटबल संरचना सुदृढ बनाउने उद्देश्य लिइएको छ ।
सम्झौताअनुसार हिमालयन शेर्पा क्लबले अनुभवी प्रशिक्षकहरू उपलब्ध गराउनुका साथै स्थानीय समुदायमा प्रशिक्षक निकाल्ने, प्याब्सन बुढानीलकण्ठले नगरपालिकाभित्रका विद्यालयहरूमा कार्यक्रम सञ्चालन गर्न समन्वय गर्ने र बालबालिकाको खेलस्तर वृद्धि गर्न विभिन्न प्रतिस्पर्धा र विकासमूलक गतिविधिहरूको आयोजना गर्ने सहमति भएको छ ।
सम्झौता कार्यक्रममा प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले यो कार्यक्रम बालबालिकाको समग्र व्यक्तित्व विकास र समुदायमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण हुने धारणा व्यक्त गरे । त्यस्तै, हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो साझेदारीमार्फत नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् ।