काठमाडौं । फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पतालबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच दुई संस्थाबीच मिसन टुगेदरमा आबद्ध पूर्व फुटबलर, प्रशिक्षक, रेफ्री, अफिसियल तथा निजका परिवारले स्वास्थ्य परीक्षण, ल्याब टेष्ट, दुर्घटना भई उपचार(स्वास्थ्य उपचार) गराउदा २०% छुट प्राप्त गर्नेसम्बन्धी सम्झौता भएको हो ।
त्यस्तै, मिसन टुगेदरले गर्ने प्रतियोगितामा नि:शुल्क एम्बुलेन्स र चिकित्सकीय सेवा प्रदान गर्नेछ । मेजर र माईनर अपरेसन गर्दा समेत विशेष छुट दिने व्यवस्था सम्झौतामा उल्लेख छ । फुटबलर्स मिसन टुगेदरको तर्फबाट वरिष्ठ उपाध्यक्ष भिक्टर जेबी राणा र अस्पतालको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे । सो अवसरमा वरिष्ठ उपाध्यक्ष राणाले हाम्रो प्रस्तावलाई स्वीकार गरी खेलाडीलाई सम्मान व्यक्त गरेकोमा अस्पताल व्यवस्थापनप्रति धन्यवाद दिए भने अस्पतालका रजत श्रेष्ठले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
फुटबलर्स मिसन टुगेदर पूर्व अन्तर्राष्ट्रिय फुटबलरहरू सम्मिलित गैरनाफामूलक संस्था हो । जसले फुटबल खेलमा आफ्नो जीवनको उत्कृष्ट समय राष्ट्रको लागि समर्पित गर्दै आफ्नो अनुभवलाई जीवन्त राख्दै आउने पिँढीलाई उत्साहित र फुटबलप्रति आर्कषित गराउने संस्थाको उद्देश्य रहेको छ । फुटबलको माध्यमबाट खेलाडीहरुले राष्ट्रलाई पुर्याएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै यस क्षेत्रमा सक्रिय रहिरहनको लागि थप उर्जा प्रदान गर्ने हेतुले अवकाश लिएर बसिरहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरुको हकहित संरक्षण गर्दै फुटबल खेलको विकासमा सहयोग गर्दै आइरहेको छ ।
सो अवसरमा मिसन टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, पूर्व अन्तर्राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरुको उपस्थिति रहेको थियो । अस्पतालको तर्फबाट व्यवस्थापन समितिका प्रशासन र वित्त विभागका निर्देशक सति गौतम सिंह लगायत अस्पताल व्यवस्थापनको उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।