काठमाडौं खबर पुस ९, २०८१
काठमाडौं । विवादका बीच सुरु भएको नेपाल ओलम्पिक कमिटी (एनओसी)मा अध्यक्ष पदका लागि मात्र निर्वाचन हुने भएको छ । जीवनराम श्रेष्ठले अदालतलाई समेत चुनौती दिँदै जबर्जस्ती गरेको निर्वाचनमा उनीविरुद्ध दुई जनाले उम्मेदवारी दिएको छ । सात उपाध्यक्ष पदको लागि नौ जनाको उम्मेदवारी परेकोमा दुईजनाले नाम फिर्ता लिएपछि उपाध्यक्ष पदमा निर्विरोध भएर अध्यक्ष पदमा मात्रै निर्वाचन हुन लागेको हो । अन्य पदमा यसअघि नै निर्विरोध भइसकेका छन् ।
जीवनराम श्रेष्ठलाई तेश्रो कार्यकालका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष बनाउन विधान संसोधन प्रक्रिया अगाडि बढाएका थिए । विवादमा होमिएको एनओसीको विवाद अहिले न्यायालयमा विचाराधीन छ । उच्च अदालत पाटनले साधारणसभामा विधान संसोधनसम्बन्धी कुनै कार्य नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरे पनि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जबरजस्ती साधारणसभा गरेर विधान संसोधन गर्दै एनओसीको निर्वाचनको मिति तोकेका थिए ।
त्यसपछि उच्च अदालतले एनओसीलाई कारण देखाउ आदेश जारी गर्दै पुस १२ गते छलफलको लागि बोलाएको अवस्था छ । अध्यक्ष पदमा तीन जनाले उम्मेवारी दिएका छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसँगै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले दाबेदारी दिएका छन् ।