काठमाडौं खबर पुस ४, २०८१
काठमाडौं । एनपीएलको दोस्रो क्वालिफायरका लागि आज प्रतिस्पर्धा हुँदैछ । फाइनलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नका लागि आज दिउँसो जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्।
दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जित्ने टिमले फाइनल खेल्न पाउने छ । बुधबार सुदूरसँग पराजित भएको जनकपुरलाई फाइनल खेल्ने अन्तिम मौका मिलेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित जनकपुरले आज फाइनलमा पुग्ने दोस्रो मौका पाउने भएको हो।
कर्णाली भने बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा आइपुगेको हो । उपाधि विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ।