काठमाडौं । मधेश प्रदेशको बर्दिवासको लट १ देखि ५ सम्मका आयोजनाहरूमा कमसल पाइपको प्रयोग गरी अनियमितता गरेको भेटिएको छ । अहिले देशका मुख्य शहरहरूमा बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको विद्युत् प्राधिकरणको सो आयोजनाहरूमा ठेकेदार टाटा प्रोजेक्ट लिमिटेडबाट सप्लाई भएको विभिन्न साइजका एचडीपीई पाइप र फ्लेक्जिबल पाइपहरूमा कमसल खालको सामग्री हालेको भेटिएपछि यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
आयोजनाहरूमा आपूर्ति भइरहेको विभिन्न साइजका पाइपहरूको दुवै साइडमा मोटाइ जीटीपीअनुसार नै ठीक राखेर बीचमा भने कमसल सामान राखी अनियमितता गरेको भेटिएको हो । बाहिरी भागमा १६० एमएम रहेको पीएन ६ एचडीपीई पाइपको अधिकतम मोटाइ १०.५८ मिमि र न्यूनतम मोटाइ ९.५२ मिमि आवश्यक रहेकोमा पाइपको बीचमा भने ८ मिमि मोटाइ रहेको भेटिएको हो । त्यस्तै, आयोजनाहरूमा आपूर्ति भइसकेको विभिन्न साइजका पाइपहरूको तौल जीटीपीको अनुसार आवश्यक औषत तौलभन्दा पनि कम देखिएको छ । यसले आयोजना र सिंगो देशवासीलाई नै दीर्घकालसम्म नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउने प्राधिकरणकै कर्मचारीहरू जिकिर गर्छन् ।
उता, १६० मिमि बाहिरीतर्फको डायमिटर को पीएन ४ एचडीपीई पाइपको अधिकतम मोटाइ ६.८९ मिमि र न्यूनतम मोटाइ ६.२२ मिमि हुनुपर्ने भए पनि यसमा ५.३५ मिमि मोटाइको पाइप मात्रै राखेको पाइएको छ । त्यस्तै, २२५ मिमिको पीएन६ एचडीपीई पाइपको मोटाइ पनि १४.६७ मिमि हुनुपर्नेमा जम्मा १०.८ मिमिको मात्रै राखेको भेटिएको हो ।
एसियाली विकास बैंकको सहयोगमा भइरहेको भूमिगत तार विस्तार आयोजनामा प्राधिकरणका उच्च अधिकारीहरू र आयोजना व्यवस्थापन निर्देशनालयका अधिकारीहरूको समेत संलग्नता रहेको आशंका गर्ने गरिएको छ । यस्तो गुणस्तरहीन कामले एकातिर मान्छेको असुरक्षा, आर्थिक क्षति र विकास साझेदार निकायले नै शंका गर्ने ठाउँ पैदा भएको भन्दै प्राधिकरणका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
यो गतिविधिमा कमजोरी भएको स्वीकार गरे पनि वितरण लाइन सबस्टेसनका प्रमुख बोधराज ढकालले भने ठेकेदारलाई दोषी ठहर गर्दै आफू पन्छिने प्रयास गरे । काठमाडौं खबरसँगको कुराकानीमा ढकालले धेरैतिर परीक्षण गर्दा एकाध ठाउँमा त्यस्तो भेटिएको भन्दै ती ठाउँमा मापदण्डअनुसारको पाइप राख्न निर्देशन दिइसकेको बताए । जसमा एक एमएम मात्रै थिकनेस कम आएको भन्दै त्यो ठूलो कुरा नभएको उनको प्रतिक्रिया थियो । तर, उनले भनेकोभन्दा धेरै अर्थात् २२५ मिमिको पीएन६ एचडीपीई पाइपमा ४ मिमिसम्मको अन्तर भेटिएको छ । ढकाल भने थोरै तलमाथि पर्नुमा म्यानुफ्याक्चरिङ डिफेक्ट भन्दै ठेकेदारको बचाउ गर्छन् । तर एक सातामा ल्याबमा लगेर त्यसको गुणस्तर परीक्षण गरेपछि बल्ल यसबारेमा थप कारबाही अघि बढाउने तयारी रहेको उनको भनाइ छ । कमसल पाइप ठेकेदारले प्रतिस्थापन गर्ने प्रतिबद्धता जनाइसकेको उनको भनाइ छ ।
उता, प्राधिकरणका एक अधिकारीले भने यसमा ठेकेदारलाई मिलाउन आयोजना प्रमुखसहितका कर्मचारीहरूले नक्कली प्रतिवेदन बुझाएको आरोप लगाएका छन् । उनीहरूले उच्च कर्मचारीको मिलेमतोमा नै लगानीको करिब १० प्रतिशतसम्म बचाउनका लागि यस्तो गरिएको भन्दै यसमा ठूलै सेटिङ रहेको ती अधिकारीले नाम नबताउने शर्तमा भने ।
जतात्यतै कमसल पाइप
त्यसो त कमसल पाइपको चर्चा यहाँमात्रै नभएर जतात्यतै भएको छ । तर कतै पनि प्राधिकरणले यसमा प्रभावकारी कारबाही प्रक्रिया अघि बढाएको छैन । जसले पनि यसमा सेटिङको सम्भावना देखाएको छ । मधेश प्रदेशमा मात्रै होइन, ललितपुर, भक्तपुर, चितवन र पोखरामा पनि यसअघि नै कमसल पाइप राखेको कुरा स्वयं विभागका अध्यक्ष ढकालले स्वीकारेका थिए । यहाँ पनि थर्डपार्टीबाट परीक्षण गर्ने भनेर पठाइए पनि यसमा कुनै कारबाही प्रक्रिया अघि बढाइएन ।
यी सबै मापदण्ड नपुगेका कामको ठेक्का ईपीसी मोडलमा भारतीय कम्पनी टाटा पावरले पाएको छ भने परामर्शदाताको जिम्मेवारी भारतै पावर ग्रीड इन्डियाले लिएको छ । पाइप उत्पादक कम्पनी भारतको जयपुरको तिजोरिया पोली पाइप लिमिटेड रहेको छ ।