काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेलमा चार टिम खेल्दै छन् । हार्ने टोली शीर्ष चारको दौडबाट बाहिरिने सम्भावना भएकाले चारमध्ये तीन टिम आज प्लेअपमा जानका लागि जित्नैपर्ने दबाबमा छन् । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिड्नेछन् । अंक तालिकामा नेट रनरेटको आधारमा काठमाडौं पोखराभन्दा एक स्थान अगाडि छ । पाँच खेलमा तीन हार र दुई जीत निकालेका दुवै टिमको समान ४-४ अंक छ।
पोखरा विरूद्धको खेलमा जीत निकाल्न सके काठमाडौंको ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ । उसले अन्तिम खेल विराटनगरसँग खेल्नेछ । यो खेल दुवै टोलीका लागि ‘नकआउट’ खेलजस्तै हुनेछ । जित्ने टिमको प्लेअफको सम्भावना बलियो हुनेछ भने हार्ने टिमको प्लेअफ होड कठिन बन्नेछ । काठमाडौं र पोखरामध्ये आज जित्ने टिमले आइतबार हुने आफ्नो अन्तिम खेल जितेमा प्लेअफ पुग्न सक्छ ।
आजै हुने दोस्रो खेलमा चितवन विजयी भएमा पहिलो खेलमा हार्ने टोलीको प्लेअफ सम्भावना अन्तिम खेलअघि नै सकिन्छ। आफ्नै नतिजामा निर्भर हुन भने दुवै खेल जित्नैपर्ने हुन्छ। दोस्रो खेलमा चितवनले प्लेअफमा पुगिसकेको जनकपुरको सामना गर्दैछ । तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण हुनेछ । उसको यो अन्तिम खेल हो । अब दुई खेल बाँकी रहँदा दुवै खेल जित्ने टोली प्लेअफ पुग्ने सम्भावना बलियो छ। त्यसैले आजको प्रतिस्पर्धा यी दुई टोलीका लागि निर्णायक छ।