काठमाडौं खबर मंसिर २८, २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो ।
चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन बनाएका हुन् । यस्तै, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए । नेपाल प्रिमियर लिगमा शुक्रबार चितवन राइनोजमाथि शानदार जित निकाल्दै विराटनगरले प्लेआफमा पुग्ने आशा जीवित राखेको छ।
यसअघि नेटरनरेटमा समेत निक्कैपछि रहेको विराटनगरको अन्तिम चरणका खेल अनुकूल हुँदा प्लेअफ पुग्ने सम्भावना नै जीवित बनाएको छ। शुक्रबार ५१ रनको जित निकाल्दा नेटरनरेटमा पोखरा एभेन्जर्स र काठमान्डु गुर्खाजलाई पछि पार्दै विराटनगर शीर्ष ५ मा उक्लिएको छ । यो नतिजालाई अन्तिम खेलमा पराजित भए चितवनको प्लेअफ पुग्ने सम्भावना समेत सकिएको छ।