काठमाडौं खबर मंसिर २५, २०८१
काठमाडौं । प्लेअपमा जाने सम्भावना करिब समाप्त भएपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेल जितेको छ । मंगलबार लुम्बिनी लायन्सले चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो ।
लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन मात्र जोड्न सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । त्यस्तै, कप्तान कुशल मल्लले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । अहिलेसम्मको पाँचौं खेलमा चार खेल हारेको लुम्बिनी अंक तालिकाको सबैभन्दा अन्तिम स्थानमा छ । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडेका थिए । उनले ६८ बलमा छ चौका र पाँच छक्का प्रहार गरेका थिए ।
त्यस्तै, आजको दोस्रो राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मङ्गलबारको दोस्रो खेलमा पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि गुल्सन झाले अविजित ४९ रन बनाए । यस्तै, चाडविक वाल्टन ४२, बाबर हायातले ७ र विलियम बोसिस्टोले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ६ रन प्राप्त गर्यो ।