काठमाडौं । सिरियाली विद्रोही हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहले सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कसलाई घेरेर आक्रमण केन्द्रित गरिएको शनिबार बताएका छन् । सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदले प्रजातान्त्रिक प्रदर्शनमा दमन गरेसँगै सुरु भएको सिरियाको गृहयुद्ध सुषुप्त अवस्थामा पुगेपछि नोभेम्बर २७ देखि एचटीएस नेतृत्वको गठबन्धनले राष्ट्रपति बशर अल असदको सत्ताका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरेको छ ।
विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति असदले राजधानी छाडेर भागेका छन् । विद्रोही कमाण्डर हसन अब्देल घानीले सरकारविद्धको लडाई सफल भइरहेको दाबी गर्दै भनेका छन्, “हाम्रा सेनाले राजधानी दमास्कसलाई घेर्ने अन्तिम चरण सुरु गरेका छन् ।”
यसअघि उनले दमास्कसको ग्रामीण इलाकामा रहेको सासा (सुरक्षा) शाखालाई सेनाले नियन्त्रणमा लिएको बताए । एचटीएसका नेता अबु मोहम्मद अल–जोलानीको सट्टा आफ्नो वास्तविक नाम अहमद अल–शरा प्रयोग गरी शनिबार टेलिग्राममा विद्रोही लडाकुहरूलाई सम्बोधन गर्दै भने, “दमास्कस तपाईंहरूलाई पर्खिरहेको छ ।”