काठमाडौं खबर मंसिर २१, २०८१
काठमाडौं । भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका क्रममा काठमाडौँ ओर्लदै गर्दा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा उनको स्वागतको तयारी चल्दै थियो । बिहान १० बजे आसपास स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासममितिका कर्मचारी स्वयम्भूनाथको प्रवेशद्वारमा ‘भुटानी नरेशलाई स्वयम्भूमा हार्दिक स्वागत’ लेखिएको व्यानर टाँग्न व्यस्त थिए ।
स्वयम्भू प्रवेशद्वार अगाडि नेपाल र भुटानका राष्ट्रिय झण्डा फहराइएको थियो । महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति, पुरातत्व विभागका अधिकारी र सुरक्षाकर्मी उनको स्वागतमा तयारी अवस्थामा रहेका थिए । स्वयम्भू परिसरमा सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो । करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका भुटानका नरेश विमानस्थलबाट सिधैँ बानेश्वर, कालीमाटी हुँदै १०:५० बजे स्वयम्भु पुगेका थिए । स्वयम्भू परिसर पुग्दा उनलाई बौद्ध परम्पराअनुसार धर्मगुरु, महासमितिका पदाधिकारी र पुरातत्व विभागका अधिकारीले स्वागत गरे ।
त्यसलगत्तै भुटानी नरेशले विश्वशान्ति पोखरीको दर्शन गरे । स्वयम्भू महाचैत्य, ‘शान्तिपूर’लगायत पुरातत्वतिक संरचनाका बारेमा पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले नरेशलाई ‘ब्रिफिङ’ गराएका थिए । स्वयम्भूनाथको परिक्रमापश्चात भुटानी नरेशले काठमाडौं उपत्यकाको दृश्यावलोकन गरे । स्वयम्भु महाचैत्यस्थित बुद्ध मन्दिर आगाडि भुटानी नरेशले दीप प्रज्वलन र पूजाअर्चना तथा हारती मन्दिरमा मौलिक परम्पराअनुसार पूजाआजा गरे। सो क्रममा बज्राचार्य गुरुहरुले स्वस्ती पाठ गरेका थिए । स्वयम्भूनाथ परिसरमै रहेको भुटानसँग सम्बन्धित महायानी मन्दिरमा रहेको भगवान् गौतमबुद्धको प्रतीमामा दीपप्रज्वलनसँग पूजाअर्चना गरेका थिए । यसक्रममा लामा गुरुहरुले स्वस्ती वाचन गरेका थिए ।
स्वयम्भुपछि भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको पूजा अर्चनासहित दर्शन गरेका छन्। स्वयम्भूको दर्शनपछि उनले बौद्धनाथको दर्शन गरेका हुन्। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत थिए। करिब आधा घण्टा स्वयम्भूमा रहेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरेका थिए।