काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा भएको भ्रष्टाचार प्रकरणमा तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरूलाई कैदसहितको सजाय तोकेको हो ।
दोषी ठहर हुनेमा शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई पनि दोषी ठहर गर्दै एक वर्षभन्दा धेरै कैद सजाय तोकिसकेको छ । कैद सजायअन्तर्गत् दुई वर्ष नौ महिना कैद सजाय भएको तोकिएको छ । तर कंसाकारलाई जम्मा दुई वर्ष नौ महिना कैद सजाय भए पनि उमेर ७४ वर्ष पुगिसकेको हुनाले जेष्ठ नागरिकले पाउने सुविधा अनुसार उनले कैदमा ५० प्रतिशत छुट पाउने छन् । त्यस आधारमा साढे १६ महिना उनको कैद हुने भएको छ ।
यसैगरी अधिकारी, ढुङ्गाना र लामिछानेमाथि एक वर्ष छ महिना कैद सजाय भएको छ । दोषी ठहर भएका अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव थिए। विभागीय मन्त्रालयको सचिव भएकैले अधिकारीमाथि थप तीन महिना कैदसमेत भएको हो ।
यसैगरी पूर्व अर्थसचिव समेत रहेका ढुंगाना तत्कालीन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेका बेला वाइडबडी विमान खरिद समझदारीपत्र स्वीकृत गर्न गठित समितिका संयोजक थिए । सो प्रकरणमा बिगो रु एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ ।