

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८२ रन बनाएको थियो । पछि ब्याटिङ गरेको विराटनगरले १६.१ ओभरमा ९२ रन बनाएर सबै विकेट गुमाएको थियो । योसँगै विराटनगरले दुई खेलमा दुवै हार व्यहोरेको छ । यसअघि भएको पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
त्यस्तै, लिगअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजसँग लज्जास्पद हार व्यहोरेको छ। चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३.२ओभरमा ७४ रन बनाउँदा अलआउट भयो। जारी एनपीएलमा कुनैपनि टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो ।