काठमाडौं । काठमाडौं गुर्खाजका खेलाडीको ब्याटिङ राम्रो नचल्दा सोमबार भएको एनपीएलको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । आजको पहिलो र प्रतियोगिताको दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो ।
काठमाडौं गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा दुई चौका र एक छक्का प्रहार गरे । यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११ रन बनाए ।
बलिङतर्फ काठमाडौँ गुर्खाजका लागि शाहब आलमले तीन तथा गेहार्ड इरास्मस र डान डाउथवेटले एक एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनाएको थियो ।
बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए । यस्तै रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिए ।