काठमाडौं खबर मंसिर १२, २०८१
काठमाडौं । यही मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई गाडी प्रदान गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन गइरहेको सो खेलमा उत्कृष्ट नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको हो ।
एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो । ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूहअन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले गाडी पाउने बताए । उनले नेपाली क्रिकेटको इतिहास मै यो पहिलो पटक हुने भन्दै एनपीएल खेलेपछि कम्तीमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ यो कदम चालिएको बताए । यसैगरी एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेट खेलको प्रवर्द्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली याक्स, काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछन् ।