काठमाडौं । अखिल नेपाल फुटबल संघले गत मंसिर ६ गते एक पक्षीयरूपमा बि डिभिजन लिगको तालिका प्रकाशित गरेको भन्दै क्लबहरूले आपत्ति जनाएका छन् । बि डिभिजन क्लबका १० वटा क्लबले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
एन्फाले २०७८ सालको तयारी खर्च अझै नदिएको, मिति तोकेर तयार गर भनि प्रतियोगिता स्थगित गरेको, सम्झौता गरेर रकम उपलव्ध नगराएको कारण देखाउँदै एन्फाको निर्णय स्वीकार्न नसकिने क्लबहरूको भनाइ छ । इतिहास बोकेका क्लबहरूलाई फुटबल खेल्न नचाहने तत्वको रूपमा भनी परिभाषित गर्न खोजिएकोप्रति विज्ञप्तिमार्फत भत्त्र्सना गरेका छन् ।
बि डिभिजन लिग आयोजनासम्बन्धी छलफल गर्न गत साता एन्फाले मुख्यालयमा बैठक डाकेको थियो । उक्त बैठकमा १४ क्लबमध्ये प्लानिङ व्वाईजको अध्यक्ष दावा लामा, श्रीकुमारी क्लबको अध्यक्ष नकुल हमाल ठकुरी र बाँसबारी क्लबको सचिव रमेश कार्कीको उपस्थिति रहेको थियो । तीनमध्ये दुई जना हालै ताजकिस्तानमा मैत्रीपूर्ण फुटबल खेल्न गएको राष्ट्रिय टिमको व्यवस्थापक हुन् ।
क्लबको माग सम्बोधन र पर्याप्त छलफल नै नगरी एक पक्षीयरुपमा लिग गर्ने निर्णयप्रति हुकुमी शैली भनी क्लबहरुले त्यतिबेला नै आपत्ति जनाएका थिए । गैरप्रतिनिधि राखेर गरेको निर्णय वैधानिक हुन नसक्ने र एन्फाले मुठभेट निम्त्याएको बि डिभिजन लिगका एक प्रतिनिधिले बताए । एन्फाले तीनवर्ष बितिसक्दा पनि एक पटक मात्र ए डिभिजन लिग सम्पन्न गरेको छ, जुन विवादमुक्त छैन भने साईकल समेत पूरा गर्न सकेको छैन ।