काठमाडौं खबर मंसिर ९, २०८१
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्ने तयारी गरेको छ । यो तयारी गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक विजय’ भएको बताएका छन् । यद्यपि झारखण्डमा भने बिजेपीको विपक्षी इन्डिया गठबन्धनले चुनाव जितेको छ ।
महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २२९ सिटमा जित हासिल गरेको छ । विपक्षी गडबन्धन महाविकास अघाडीले ५१ सिटमा जित हासिल गरेको छ । यो भनेको कुल सिट संख्याको करिब ८० प्रतिशत हो ।
त्यसैगरी, झारखण्डमा झारखण्ड मुक्तिमोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जित्ने देखिएको छ । यहाँ जेएमएम एक्लैले ३४ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपा (माले) ले २ सिट जित्ने अनुमान गरिएको छ ।
झारखण्डमा विपक्षी भाजपाले २२ सिट जित्ने देखिएको छ भने उसको सहयोगी अल झारखण्ड स्टुडेन्ट्स पार्टी (आजसू), लोक जनशक्ति पार्टी (रामविलास) र जनता दल (युनाइटेड) ले एक–एक सिट जित्ने अनुमान गरिएको छ ।
निर्वाचन आयोगका अनुसार हेमन्त सोरेनले भाजपाका गामलियाल हेम्ब्रोमलाई ३९ हजार ७९१ मतको अन्तरले पराजित गर्दै बरहैतमा निर्वाचित भएका छन् । सोरेनलाई ९५ हजार ६१२ मत प्राप्त भएको छ भने हेमब्रोमले ५५ हजार ८२१ म्त प्राप्त गरेका छन् ।
सोरेन अब जेएमएम नेतृत्वको गठबन्धनको नेतृत्वमा झारखण्डको मुख्यमन्त्रीको रूपमा फर्कने तयारीमा देखिएका छन् ।