काठमाडौं । आज छुट्टाछुट्टै जनप्रदर्शनले काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त बन्ने देखिएको छ । छुट्टाछुट्टै समूहले काठमाडौंको नारायणहिटी, माइतीघर र कोटेश्वरमा प्रदर्शन गर्दैछन् ।
सत्तारुढ नेकपा (एमाले) ले काठमाडौंको दरबारमार्गमा आज ‘जागरणसभा’ गर्दैछ । एमालेले सुरुमा भृकुटीमण्डपमा गर्ने भनिएपनि पछि दरबारमार्गमा आयोजना हुने गरी सभास्थल सारेको थियो । सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जागरणसभामा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालेर दरबारमार्गमा पुग्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । सामाजिक सद्भाव, सुशासन, समृद्धि तथा विकासको पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको एमालेले जनाएको छ ।
त्यस्तै, दिउँसो नै सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरुको प्रदर्शन पनि जारी हुनेछ । उनीहरुले दुई दिनदेखि जारी राखेको आन्दोलनलाई शुक्रबार पनि निरन्तरता दिने भएका छन् । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राखेका छन् ।
उता दुर्गा प्रसाई समर्थकहरुले पनि शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्नका लागि प्रशासनसँग अनुमति लिएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर उनका समर्थकहरुले प्रदर्शन गर्न लागेका हुन् । तर यसका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि भने यो आन्दोलन के हुन्छ भन्ने यकिन भइसकेको छैन ।
काठमाडौंका मुख्य ठाउँमा हुने यी प्रदर्शनले काठमाडौंको आजको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ ।