काठमाडौं खबर मंसिर ६, २०८१
काठमाडौं । अहिले रसिया र युक्रेनबीचको युद्ध चरम अवस्थामा पुगेको छ । अमेरिकापछि बेलायतले दिएको लामो दूरी हान्न सक्ने क्षमताको मिसाइल युक्रेनले रसियामाथि प्रहार गरेसँगै यो तनाव झनै चरम अवस्थामा पुगेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले ग्रिन सिग्नल दिएपछि युक्रेनले पहिलो पटक यही मंगलबार रुसमाथि एटीए सीएमएस क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त घटनापछि आक्रोशित रुसले परमाणु हतियार प्रयोगसम्बन्धी आफ्नो सिद्धान्तमा मात्रै परिवर्तन गरेन कि युक्रेनी राजधानी किएभमाथि भिषण प्रहार गर्ने धम्की पनि दियो । यही धम्कीलाई ध्यानमा राख्दै अमेरिका लगायतका केही पश्चिमा देशले बुधबार किएभस्थित आफ्ना दूतावास अस्थायी रुपमा बन्द समेत गरेका छन् ।
युक्रेनले बेलायतले दिएको स्टोर्म स्याडो क्षेप्यास्त्र रुसभित्र प्रहार गरेपछि रुस र पश्चिमा देशबीच तनाव थप चर्किने निश्चित झैं देखिएको छ । स्टोर्म स्याडो क्षेप्यास्त्र २ सय ५० किलोमिटरको दुरी सम्म मार हान्न सक्ने “एंग्लो फ्रेन्च” क्रुज क्षेप्यास्त्र हो । यो लडाकु विमानबाट प्रहार गरिन्छ भने यो करीब करीब ध्वनिको गतिमा यात्रा गर्दै लक्ष्यमा गएर ठूलो विस्फोटका साथ पडकिन्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सकिनुअघि यो क्षेत्रमा युद्धलाई झनै बढावा दिएर गएका छन् । ट्रम्पले आफूले सत्ता सम्हालेको २४ घण्टाभित्र रुस युक्रेन युद्ध समाप्त गर्ने बताइरहेको बेलामा बाइडेनले भने सकेसम्म युद्ध चर्काउन खोजेको देखिएको छ ।