काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि आप्रवासीप्रति कट्टर बन्दै गएका डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्ने घोषणा गरेका छन् । यसको लागि आवश्यक परे सेना परिचालन गर्ने समेत उनले घोषणा गरेका छन् । सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र मेक्सिकन सीमालाई समेत व्यवस्थित बनाउने उनको भनाइ छ ।
त्यसो त यो ट्रम्पले आफैँले घोषणा गरेको नभई एउटा सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेको पोस्टमा रिट्वीट गरेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गरेका हुन् । त्यसमा लेखेका छन्, ‘नवनिर्वाचित राष्ट्रपति राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ ।’ पुनः पोस्ट गरेसँगै ट्रम्पले उक्त कुरा ‘साँचो’ भएको उल्लेख गरेका छन् ।
गत जुलाईमा रिपब्लिकन नेसनल कन्भेन्सनमा उपस्थित भएर उनले समर्थकहरूलाई भनेका थिए, ‘मैले लाखौं अवैध आप्रवासीलाई एउटा सन्देश दिन चाहन्छु कि जो बाइडनले भित्राएका उनीहरूलाई फिर्ता पठाइनेछ ।’