काठमाडौं । नेपाल र बंगलादेशबीच भएको विद्युत व्यापार सम्झौता ऐतिहासिक र फाइदापूर्ण रहेको तीनै देशले दाबी गरेका छन् । शुक्रबारदेखि ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्न सुरु गरेपछि तीनै देशले यस्तो दाबी गरेका हुन् ।
दुईदेशीय सम्झौतामा तेस्रो पक्षको रूपमा रहेको भारतले समेत यसलाई ऐतिहासिक र उपलब्धिपूर्ण भनेका छन् । विद्युत भारतीय भूमिहुँदै लैजानुपर्ने भएकाले यसमा भारत पनि जोडिएको छ ।
सम्झौतापछि भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालबाट भारत हुँदै बंगलादेशमा पहिलो त्रिपक्षीय विद्युत् व्यापार शुरू हुनु दक्षिण एशियाली उर्जा सहकार्यका लागि ऐतिहासिक कदम हो ।’
शुक्रवारदेखि भारतको विद्युत् ग्रीडमार्फत नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् आपूर्ति शुरू गरेको हो । उक्त परियोजनाको उद्घाटन संयुक्त रूपमा नेपाल, भारत र बंगलादेशका उर्जा मन्त्रीले गरेका थिए ।
नेपालको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित भर्चुअल कार्यक्रममा नेपालका उर्जा मन्त्री दीपक खड्का, बंगलादेशका उर्जा मन्त्रालयका सल्लाहकार मोहम्मद फौजुल कबिर खान र भारतका उर्जा तथा आवास मन्त्री मनोहर लालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।