काठमाडौं । आजदेखि नेपाल र भारतबीचको दुई देशीय सीमा सुरक्षा बलको समन्वयात्मक बैठक सुरु हुँदैछ । नेपालको सीमा सुरक्षा बल सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन समयसमयमा यो बैठक बस्ने गरेको छ । दुई देशीय सीमा सुरक्षा बलको यो आठौँ समन्वयात्मक बैठक हो ।
सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्तरूपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए ।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ । बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । बैठकमा सहभागी हुन सशस्त्र सीमा बलका महानिर्देशकसहितको प्रतिनिधिमण्डल शुक्रबार नै काठमाडौँ आएको छ ।
समन्वयात्मक बैठक प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । यसअघि सो बैठक भारतमा भएको थियो । छैटौँ समन्वयात्मक बैठक २०७९ असोजमा काठमाडौँमा भएको थियो । कोभिड–१९ का समयमा भने समन्वयात्मक बैठक नियमित हुन सकेका थिएनन् । सीमा सुरक्षामा खटिइएका दुई सङ्गठनबीच महानिर्देशक–महानिरीक्षक, वाहिनीपति, गणपति तथा बोर्डर आउट पोस्ट स्तरमा पनि नियमित छलफल हुँदै आएका छन् ।