काठमाडौं खबर कार्तिक ३०, २०८१
काठमाडौं । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित हासिल गरेको छ । माक्र्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल गरेका थिए । तत्काल चुनाव गराउने र आफ्नो एजेन्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उहाँको निर्णयलाई समर्थन मिलेको छ । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले २२५ सदस्यीय विधानसभामा कम्तिमा १२३ सिट जितिसकेको छ भने मतगणना भइरहेका अन्य केही स्थानमा पनि अग्रता कायम भएको छ ।
समाचार तयार पार्दासम्म गणना भएका तीन चौथाइभन्दा बढी मतमध्ये गठबन्धनले ६२ प्रतिशत मत प्राप्त गरेको छ भने विपक्षी नेता सजिथ प्रेमदासाको पार्टी १८ प्रतिशत मतका साथ निकै पछि परेको छ । “जनताले भ्रष्टाचार र भ्रष्ट प्रणालीबाट छुटकारा पाउनका लागि मतदान गरेका छन्,” चुनावमा एनपीपीलाई समर्थन गर्ने सूचना प्रविधिका व्यवसायी चानाका राजपाक्षले शुक्रबार एएफपीलाई बताए ।
अल्पसङ्ख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा उहाँको पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एक मजदुर परिवारमा जन्मिएका ५५ वर्षीय राष्ट्रपति दिसानायकेले बिहीबारको चुनावमा मतदान गरेपछि संसद्मा ‘सशक्त बहुमत’ साथ आफ्नो गठबन्धनलाई अगाडि बढाउने अपेक्षा गरेको बताए । उनले भने, “हामीलाई विश्वास छ, यो एक महत्वपूर्ण चुनाव हो जसले श्रीलङ्कामा एउटा परिवर्तनको सङ्केत गर्नेछ । यो चुनावमा एनपीपीले संसद्मा बलियो बहुमतका लागि जनादेश पाउने हाम्रो विश्वास छ।”
प्रहरीका अनुसार, हालका वर्षहरूमा अधिकांश मतदानको विपरित नौ घण्टाको मतदान अवधि कुनै हिंसात्मक घटना बिना बितेको छ । तर ड्युटीमा रहेका बेला एक प्रहरी हवल्दारसहित तीन जना निर्वाचन कार्यकर्ताको रोगका कारण मृत्यु भएको थियो।