काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटनमन्त्री बद्री पाण्डेलाई भेटेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक रूपमा वृद्धि हुँदा आम मानिसमा समस्या परेको भन्दै त्यसको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् । काँग्रेस सांसद सञ्जय गौतम थापा मिलेर बिहीबार मन्त्री पाण्डेसहित पर्यटन सचिवसहित मन्त्रालयका अधिकारीहरू, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक, नेपाल वायुसेवा निगमका अधिकारी, अन्य सम्बन्धित प्रतिनिधिसँगको छलफलमा मूलतः दुई विषयमा ध्यानाकर्षण गरेको थापाले फेसबुकमार्फत जानकारी दिए ।
थापाका अनुसार हवाई भाडामा भएको अस्वाभाविक वृद्धिको सम्बन्धमा उनले सुझाव दिएका छन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको सङ्ख्या कम भएको र यसको कारण भनेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक रूपमा वृद्धि भएको छ। जसको सिधा असर आम मानिसमा परेको भन्दै यसलाई सुधार गर्न के काम भइरहेको छ भन्ने बारेमा जानकारी लिएको उनले उल्लेख गरेका छन् ।
त्यस्तै, डिसेम्बर महिनाबाट धेरै सुधार हुन्छ भनिए पनि त्यसपश्चात्को हवाई भाडादर पनि महँगो नै रहने अवस्था रहेको भन्दै यसको समाधानका लागि सबै उपायहरू लगाएर भाडदारमा भइरहेको अनियमितता लाई चेक गर्न आवश्यक रहेको बुझाउँदै सुझाव दिएको उनले बताएका छन् । यसरी विमानस्थलमा हुने निर्माण कार्यकै कारण देशको हवाई यातायात र भाडा दर प्रभावित हुनेभएकोले अहिले भइरहेको विमानस्थल निर्माणका कामहरूलाई ‘के-कस्तो उपायहरू लगाएर थप गतिशील बनाएर कसरी निर्माणको अवधि घटाउन सकिन्छ ? जसले गर्दा निर्माण अवधि घट्न सक्छ ।’ भन्ने विषयमा समेत छलफल भएको थियो ।
थापाले फेसबुकमा लेखेका छन् ‘कोरियामा जाने श्रमिकहरू महँगो हवाई-भाडदारका कारण एकदमै ठुलो मारमा परेका छन्। नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर हुन्छ वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्नुपर्छ भन्ने धारणा राख्यौँ। यस सम्बन्धमा मैले अध्ययन गरेर, अन्तरक्रिया गरेर लिएको सबै कुराको जानकारी गराएको छु। यसका लागी मन्त्रालयले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, ईपीएस, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग एकै ठाउँमा बसेर, समन्वय गरी तत्काल निचोडमा पुगेर कार्यान्वयनमा लिएर जानुपर्नेछ। यसमा मन्त्रीजीले ‘तुरुन्त काम हुने गरी प्रक्रिया अगाडी बढाउँछु’ भन्ने कुराको विश्वास दिलाउनुभएको छ।’