काठमाडौं । नेपालले आज आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व उसकै भूमिमा खेल्ने भएको छ । आज छनोटको तेस्रो खेलको रूपमा बिहान ११:१५ बजे प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघिका दुई खेलमा थाइल्याण्ड र कुवेतलाई हराएको नेपालले तेस्रो खेलमा युएई लाई पनि हराउने लक्ष्य राखेको छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।