काठमाडौं खबर कार्तिक २३, २०८१
काठमाडौं । पर्यटक आउने मुख्य सिजनमा पर्यटन व्यवसायलाई नै असर पार्नेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरिएको छ । आजदेखि लागू हुनेगरी १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
विमानस्थल स्तरोन्नतिका लागि भनेर बन्द गरिएको क्यानले उक्त स्तरोन्नतिका लागि पाँच महिना लाग्ने बताएको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्ने बताइएको छ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०:०० देखि बिहान ८:०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६:०० बजे खुलेर राति २:०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
अहिले सेप्टेम्बरदेखि करिब जनवरीसम्मको समय नेपालमा पर्यटक आउने मुख्य समय हो । १० घण्टासम्म विमानस्थल बन्द गर्दा पर्यटन व्यवसायमा भने यसले गम्भीर असर पर्ने भन्दै पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । रातिको उडान बन्द गरेसँगै नेपालबाट पश्चिमा देशहरूमा जानका लागि सहज मानिने काठमाडौं-दोहा यात्रा हुने कतार एयरवेजले नोभेम्बरभर आफ्नो उडान बन्द गरेको जनाएको छ ।
त्यसो त विमानस्थलको स्तरोन्नति आफैँमा नियमित प्रक्रिया हो । यसअघि पनि विमानस्थल समयसमयमा बन्द हुँदै आएको थियो । तर पर्यटक आउने मुख्य सिजनमा भने यसरी बन्द गरिएको थिएन । मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।
विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । सो समयमा चैत तेस्रो सातादेखि विमानस्थल बन्द गरिएको थियो । सो समयमा उडान कटौती हुँदा पनि त्यति धेरै पर्यटन क्षेत्रमा असर परेको थिएन । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो । विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।