काठमाडौं खबर कार्तिक २२, २०८१
काठमाडौं । आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले कुवेतलाई हराएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो । कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाइन् । उनले १७ बलमा दुई चौका प्रहार गर्दै १२ रन बनाएकी हुन् । कप्तान जिलानीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । आयशा इकबाल पेवेकरले तीन बलमा दुई रन बनाएर आउट भइन् । साराह जसवीले १२ बलमा चार रन बनाइन् भने जिनिया अफरोज र स्वातिबा कुलदीपसिंह परमारले समान एक/एक रन बनाए ।
क्यान्डिस डायस, रेलिन मारिया डी सुजा, ईशान्वी मोहन सिंह, पर्ल सेरेना साइमन, खादिजा जाहिर हुसेन र अमिषा राम ओलाचेरी शून्य रनमा आउट भए । नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई/दुई विकेट लिए । त्यस्तै, कप्तान पूजा महतो, कृश्मा गुरुङ, मनिशा कुमारी उपाध्यायले समान एक÷एक विकेट लिए । यो खेलमा कुवेतले अतिरिक्त दुई रन पाएको थियो ।