

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष र महासचिवको कमिसन मोहले साफ च्याम्पियनसिप महिला फुटबलको खेलमा टिकेटिङ सिस्टम अस्तव्यस्त बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सूचना प्रकाशित गरी ‘अर्को सूचना जारी नभएसम्मका लागि’ टिकट बिक्री रोकेपछि टिकेटिङ सिस्टम अस्तव्यस्त बनेको हो ।
‘कात्तिक ११ गते आइतबार दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौँमा साफ वुमेन्स च्याम्पियनसिप–२०२४’ को सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको’ एन्फाले जनाएको छ। एन्फाका प्रवक्ता सुरेश शाहले टिकेट वितरणमा बदमासी भएको भेटिएपछि टिकट बिक्री रोकिएको बताए । उता, टिकेट बिक्री बढी भएको विषयमा बुझ्न खोज्दा एभरेस्ट इभेन्ट्सका प्रमुख थमन भुषालले कुरा गर्न चाहेनन् ।
त्यसो त यो खेलका लागि एभरेस्ट इभेन्ट्सलाई टिकट काट्ने जिम्मा दिनु आफैँमा गलत थियो । कार्यसमितिको निर्णयबमोजिम सबै खेलमा आफैँले टिकट काट्नुपर्ने भए पनि अध्यक्ष र महासचिवले कार्यसमितिको निर्णयविपरीत विनाप्रतिस्पर्धा माउन्ट एभरेस्ट इभेन्ट प्रालिलाई टिकट बिक्रीको अधिकार दिएका थिए । दुई जनाको मिलेमतोमा सुटुक्क दिएको सो अधिकारमा आर्थिक चलखेल भएकोले नै अहिले क्षमताभन्दा धेरै टिकट बिक्री भएको हुन सक्ने अनुमान एन्फाका अधिकारीहरूको छ ।
कार्यसमितिले टिकट आफैँले बिक्री गर्ने भनेर निर्णय गरे पनि अध्यक्ष र महासचिवको मिलेमतोमा भएको यो कामले भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । यसरी विनाप्रतिस्पर्धा टिकट बिक्रीको अधिकार दिनु गैरकानुनी र अख्तियारको दुरुपयोग भएको भन्दै गम्भीरतापूर्वक छानबिन गरी कारबाही गर्न माग गर्दै गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले अख्तियारमा उजुरी नै हालेका थिए ।