काठमाडौं । बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न जाने दर्शकका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रोटोकल जारी गरेको छ । एक सूचना जारी गर्दै एन्फाले खेल हेर्न आउने दर्शकका लागि दशरथ रंगशालाभित्र प्रवेश गर्दा कतिपय वस्तु ल्याउन निषेध गरेको हो ।
एन्फाले खेल मैदानमा उपस्थित व्यक्तिहरूको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै, केही सामग्रीहरूमाथि रंगशाला भित्र लैजान निषेध गरिएको जनाएको छ। एन्फाका अनुसार प्रतिबन्धित सामग्रीहरू यस्ता छन् :
१) हातहतियारः बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार।
२) धुम्रपान र आगो बाल्ने सामग्रीः चुरोट, लाइटर, सलाइ आदि।
३) मादक पदार्थः मदिरा र अन्य नशालु पदार्थहरू।
४) झोला र ठूला ब्यागहरूः साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन्।
५) हेल्मेट र सुरक्षात्मक उपकरणहरूः हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू।
६) प्रचार सामग्रीः अनुमति बिना ब्यानर, झण्डा, पोस्टर आदिमा निषेध।
७) प्रक्षेपण गर्न मिल्ने वस्तुहरूः पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने, धातुका मुद्रा क्याइन, सामग्रीहरू।
८) लेजर लाइटः खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट।
९) ड्रग्स र अन्य अवैध पदार्थः कुनै पनि प्रकारका लागू औषधहरू।
१०) छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयो।