काठमाडौं । काठमाडौं–निजगढ द्रूत मार्ग (फाष्टट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाडौं–निजगढ द्रूत मार्ग (फास्ट ट्रयाक) को टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिई रु एक करोड २८ लाख लिएर फरार भएका थिए ।
आचार्यले भने, ‘कार्यालयमा जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज दिउँसो १ बजे पक्राउ गरेको हो ।’