काठमाडौं । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।
भारतमाथि नेपालको यो जित एउटा इतिहास सम्झाउने खालको जित रहेको छ । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आइतबार पाँच पटकको विजेता भारतविरुद्ध जित हासिल गर्नैपर्ने बाध्यता थियो । अन्तिम अवस्थामा ट्राइब्रेकरमा पुगेर भए पनि नेपालले यो चुनौती सामना गरेरै छाड्यो । पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो । जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ। पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन। समग्रमा भने नेपालमाथि भारत हाबी छ। यी दुईबीच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् । साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।
तर विगतमा दक्षिण एसियाली महिला फुटबलमा एकछत्र राज गरेको भारतको चमक अहिले कम भइसकेको छ । यसलाई आइतबारको खेलले पनि देखाएको छ । यस प्रतियोगिताको समूह चरणमा पनि बङ्गलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो । जसको फाइदा नेपाललाई सेमिफाइनलमा उठाएको छ । अब नेपालले फाइनल खेल बंगलादेशसँग खेल्ने छ ।