काठमाडौं । सरकारले न्युरो उपचार केन्द्र खोल्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्युरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेका छन् । मन्त्री पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ । गठित समितिको संयोजकमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका सह प्रा डा गोपाल सेढाईं रहेका छन् ।
यदि उपचार केन्द्र स्थापना भयो भने मुटुको लागि गंगालाल हृदय रोग केन्द्र जस्तै सुविधासम्पन्न र सुपथ मूल्यमा उपचार हुने विश्वास गरिएको छ । सो समितिमा वीर अस्पतालका डा विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डा राजीव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिस्टका प्रतिनिधि समितिको सदस्य रहने छन् ।
समितिमा अमेरिकाको जाकोल्स स्कुल अफ मेडिसिन एन्ड बायोमेडिकल साइन्सका सह प्राडा अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा पुष्पराज पौडेललाई सदस्य सचिव तोकिएको छ । समितिलाई देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त स्थानमा जग्गा खोजीको सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको छ ।