काठमाडौं । दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा उद्घाटन खेल सम्पन्न भएको हो ।
खेलमा वीरगञ्ज युथ एकेडेमीले श्री कुमारी क्लबलाई ३–२ गोलले पराजित गरी विजयी सुरुवात गरेको छ । वीरगञ्ज युथ एकेडेमीको तर्फबाट चक्रधर चौधरी, सञ्जय कुमार मण्डलले गोल गरेका थिए भने हरिशंकर महर्जनले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै, पराजित टिमको तर्फबाट सुधीर महर्जनले दुई गोल गरेका थिए । वीरगञ्ज युथ एकेडेमीका सञ्जय कुमार मण्डल प्लेयर अफ दि म्याच घोषित भए । दोस्रो खेलमा सरस्वतीनगर भेट्रान्स क्लबले गण्डकी प्रदेश फुटबल संघलाई पेनाल्टी सुटआउटमा २–० ले पराजित गर्यो । निर्धारित समयसम्म दुवै टिमको तर्फबाट समान १÷१ गोल गरेका थिए । गण्डकीका लागि सन्तोष केसीले गोल गरेका थिए भने अमित परियारले आत्माघाती गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आइतबार बिहान ९ बजे विजय युथ क्लब, हेटौँडाविरुद्ध महावीर क्लब, दिउँसो १ बजे फ्रिडम फाइटरविरुद्ध वीआर ब्रदर्श र दिउँसो ३ बजे हाम्रो धरान भेट्रान्सविरुद्ध वीरगञ्ज युथ एकेडेमी बीच खेल हुने कार्यतालिका छ ।
खेलअघि एक समारोहका बीच खेलको उद्घाटन नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले गरेका थिए । सो अवसरमा मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, मिसनका पदाधिकारीहरु, पूर्व राष्ट्रिय फुटबल खेलाडीहरुको उपस्थिति थियो ।