

काठमाडौं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बुधबार आफ्नो अर्को चान्सलर बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा रहेको बताएको छ । तथापि हाल जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ती प्रतिस्पर्धीमा परेका छैनन् । उनको पार्टीले खानका लागि आवेदन दिएको बताएको थियो । उम्मेदवारहरूले हङकङका पूर्वगभर्नर क्रिस प्याटनको उत्तराधिकारी बन्न प्रतिस्पर्धा गरिरहेका छन् । प्याटन २१ वर्षपछि जुनमा बिदा भएका थिए । यो औपचारिक पद सन् १२२४ देखि लगातार पूर्ति हुँदै आएको छ ।
प्याटनको स्थान लिन उच्च–प्रोफाइल नामहरूमा कन्जर्भेटिभ पार्टीका पूर्वनेता एवं विदेश सचिव विलियम हेग, लेबर पार्टीका पूर्व युरोपेली सङ्घ व्यापार आयुक्त पिटर म्यान्डेलसन र पूर्व महान्यायाधिवक्ता डोमिनिक ग्रिभ समावेश छन् । आठ सय वर्षमा पहिलो पटक यो पद धारण गर्ने महिला बन्ने आशा गर्दै स्कटिश वपकल एलिश एन्जियोलिनीले गरेकी छन् । उनले सन् २०२१ मा लन्डनका एक प्रहरी अधिकारीद्वारा ३३ वर्षीया मार्केटिङ कार्यकारी सारा एभरार्डको बलात्कार, अपहरण र हत्याको उच्च–प्रोफाइल जाँच नेतृत्व गरेकी थिइन् ।
एन्जियोलिनी हाल सेन्ट ह्युज कलेज, अक्सफोर्डकी प्रिन्सिपल हुन् । यहाँका पूर्वविद्यार्थीहरूमा बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मे र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु की रहेकी छन् । अर्का अक्सफोर्ड प्रिन्सिपल सोमरभिल कलेजकी जान रोयल पनि दौडमा छिन् । उनी पूर्व लेबर नेता नील किनकका पूर्व सल्लाहकार र हाउस अफ लर्ड्सकी नेत्री थिइन् । अगस्टमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका लन्डनस्थित प्रवक्ताले पूर्वप्रधानमन्त्रीले आफ्नो आवेदन पेश गर्न चाहने निर्देशन दिएको बताएका थिए ।
सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहनुभएका खानले भ्रष्टाचारदेखि हिंसा भड्काउनेसम्मका विभिन्न आरोपमा एक वर्षभन्दा बढी जेलमा बिताएका छन् । यसलाई उनले राजनीतिक प्रेरित र उनलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताएका छन् । उनले सन् १९७५ मा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रको अध्ययन गरेर अक्सफोर्डबाट स्नातक गरेका थिए । त्यसपछि राजनीतिमा प्रवेश गर्नुअघि उत्कृष्ट करियरमा पाकिस्तानको क्रिकेट टोलीको कप्तानी गरेका थिए ।