काठमाडौं खबर अशोज २९, २०८१
काठमाडौं । दुई शक्तिशाली देश भारत र क्यानडाबीच कूटनीतिक सम्बन्ध नै टुट्ने जोखिम बढेको छ । पछिल्ला केही घटनाक्रमले दुई देशबीचको कूटनीतिक सम्बन्ध नै टुट्ने जोखिम बढेको हो । क्यानडाले फेरि भारतीय कूटनीतिज्ञले जासुसी गरेको आरोप लगाएको छ । कूटनीतिक सञ्चारमा, क्यानडाका लागि भारतका उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य भारतीय कूटनीतिज्ञहरूलाई जुन २०२३ मा खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा संलग्न भएको आरोप लगाइएको छ। क्यानडाको यस्तो बयानप्रति आपत्ति जनाउँदै भारतले दिल्लीस्थित आफ्नो नियोगका वरिष्ठ कूटनीतिज्ञलाई बोलाएको छ । भारतीय परराष्ट्र मन्त्रालयले क्यानडामा रहेका भारतीय उच्चायोग र अन्य कूटनीतिज्ञलाई आधारहीन निशाना बनाउने कार्य अस्वीकार्य रहेको बताएको छ ।
भारत र क्यानडाद्वारा कूटनीतिज्ञ निष्काशन
पछिल्लो तनावपछि भारत र क्यानडाले एक अर्काका ६ शीर्ष कूटनीतिज्ञलाई निष्काशन गरेका छन् । भारतले देश छाड्न आग्रह गरेका क्यानाडाली नागरिकहरूमा कार्यवाहक उच्चायुक्त स्टेवार्ट रस ह्वीलर, उप-उच्चायुक्त प्याट्रिक हेबर्ट, प्रथम सचिव मेरी क्याथरिन जोली र फर्स्ट सेक्रेटरी ल्यान रस डेभिड ट्राइट्स रहेका छन् । अन्य दुई कूटनीतिज्ञहरू पहिलो सचिव एडम जेम्स चुइप्का र प्रथम सचिव पाउला ओर्जुएला हुन्। क्यानडाले पनि भारतीय उच्चायुक्त सञ्जय कुमार वर्मासहित आफ्ना ६ शीर्ष कूटनीतिज्ञलाई देश छाड्न भनेको छ । तर, भारतले यसअघि आफ्ना कूटनीतिज्ञहरूलाई स्वदेश फर्कन निर्देशन दिइसकेको थियो ।
के छ क्यानाडा प्रहरीले लगाएको आरोपमा ?
यस सम्पूर्ण मामिलामा क्यानाडाको रोयल क्यानेडियन माउन्टेन पुलिसले एक विज्ञप्ति जारी गर्दै भारतीय कूटनीतिज्ञहरूले आफ्नो देशका मानिसहरूको डाटा सङ्कलन गरिरहेको आरोप लगाएको छ। पुलिसले यो पनि भनेको छ कि “दक्षिण एसियाली समुदायका सदस्यहरू र विशेष गरी खालिस्तान समर्थक आन्दोलनका सदस्यहरूको जीवनमा विश्वसनीय र आसन्न खतरा उत्पन्न गरेको छ।” यस विषयमा हामीले भारतीय अधिकारीलाई पटकपटक जानकारी गराएका थियौं र प्रमाण पनि बुझाएका छौं तर कुनै कारबाही नभएको प्रहरीले जनाएको छ ।
यता भारतीय विदेश मन्त्रालयले पनि क्यानडामा भारतीय कूटनीतिज्ञहरूको सुरक्षा जोखिम बढेको बताएको छ । सोमबार साँझ भारतीय विदेश मन्त्रालयले भनेको छ- ट्रुडो सरकारको व्यवहारका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ। अहिलेको सरकारप्रति हाम्रो विश्वास छैन। यसैलाई ध्यानमा राख्दै भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्त र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। हामीले क्यानडालाई ट्रुडो सरकारले भारतविरुद्ध पृथकता र चरमपन्थीलाई जसरी समर्थन गरिरहेको छ त्यसकोविरुद्ध जवाफ दिने अधिकार भारतसँग छ भनी बतायौँ ।