काठमाडौं । संयुक्त राष्ट्र संघले इजरायली सेना दक्षिणी लेबनानमा शान्ति सैनिकको आधार क्षेत्रमा जबरजस्ती प्रवेश गरेर आक्रमण गरेको आरोप लगाएको छ । जसका कारण लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल र इजरायली सेनाबीच मुठभेडका घटना बढाएको राष्ट्र संघको दाबी छ।
युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् । “इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्”, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने, “संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।”
हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् । इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनिफिलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ ।