

काठमाडौँ । आज बडा दशैँको पाँचौं दिन भए पनि चौथो दिन पूजा हुने देवी कुष्माण्डाकै पूजा गरी मनाइँदैछ । आश्विन शुक्ल चौथी तिथिमा पूजा हुने कुष्माण्डा देवीको पूजा आइतबार पनि गरिएको थियो । तर तिथि वृद्धि भएर सोमबार पनि चौथी तिथि नै कायम भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।
आज बिहान ०६ : १६ बजेसम्म चौथी तिथि रहेको छ । शास्त्रीय मान्यताअनुसार देवकार्यका लागि सूर्योदयको समयमा जुन तिथि छ, सोही तिथिलाई आधार मान्ने गरिन्छ । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको हो । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो ।
पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलबार गर्नुपर्छ । यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ । असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने भएको छ ।