काठमाडौं खबर अशोज २०, २०८१
काठमाडौं । एन्फाको लापरबाहीविरुद्ध संसद्ले एक्सन लिएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले गत असोज १२ र १३ गते गएको पहिरोमा परी एन्फाको सिस्नेरीमा रहेको एकेडेमीका छ जना खेलाडीको ज्यान गएको विषय सामान्य नभएको भन्दै छानबिन गर्ने निर्णय गरेको हो ।
असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो । पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।
६ खेलाडीको विशुद्ध प्राकृतिक विपत्तिका कारण मात्र नभई व्यवस्थापनको लापरबाहीका कारण घटना भएकाले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने समितिको निष्कर्ष छ ।