

काठमाडौं । काठमाडौं जिल्ला लिगको उपाधि चितलाङ एफसीले जितेको छ । जिल्ला लिगको फाइनल खेलमा चाबहिल फुटबल क्लबलाई शून्यको विरुद्ध ५ गोलले पराजित गरी उपाधिमाथि कब्जा जमाएको हो । चितलाङ्ग फुटबल क्लबलाई विजयी गराउन क्लबको तर्फबाट आयुष कुंवरले १ गोल, सुजित बुढाथोकीले दुई गोल, रुजित पुडासैनीले एक गोल र विकास लामाले एक गोल गरेका थिए । जितसँगै क्लबले च्याम्पियन ट्रफी र नगद एक लाख हात पार्यो । व्यक्तिगत विधातर्फ पनि चितलाङ्ग एफ.सीका खेलाडी सुजित बुढाथोकी म्यान अफ द सिरिज घोषित भई नगद रु ५ हजार र ट्रफी हात पारे ।
चितलाङ्ग एफ.सीका सक्कल रेग्मी, चन्द्र सुन्दर श्रेष्ठ र रुपेश क्षेत्री क्रमशः वेष्ट डिफेन्डर, वेष्ट गोलकिपर र वेष्ट कोच घोषित भए । फाइनलमा पुग्न चितलाङ फुटबल क्लबले लिग चरणमा एबीसी क्लबलाई शून्यका विरुद्ध २ गोल, समाजसेवा क्लबलाई शून्यको विरुद्ध ३ गोलले पराजित गरेको थियो भने सेमिफाइनलमा पेनाल्टी सुटआउटमा दक्षिणकाली युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।
यसअघि भएको छनोट खेलमा लगातार ३ खेलमा जित हासिल गर्दै चितलाङ्ग एफसीले जिल्ला लिगमा स्थान बनाउन सफल भएको थियो । क्लबले छनोट खेल र जिल्ला लिग गरी लगातार ७ म्याचमा विजयी हासिल गरेकोे हो । जिल्ला लिगमा च्याम्पियन भएसंगै एन्फाले सन्चालन गर्ने प्रदेश लिगको लागि समेत प्रतिनिधित्व गर्ने अवसर पाएको छ ।
काठमाडौं जिल्ला फुटबल संघले आश्विन ११ देखि १६ गतेसम्म सानो गौचरणको खेल मैदानमा सम्पन्न गरेको लिगमा १२ वटा क्लबको सहभागिता रहेको थियो भने विजयी खेलाडीहरुलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र एन्फाका उपाध्यक्ष एवं काठमाण्डौ जिल्ला फुटबल संघका अध्यक्ष विराट जङ्ग शाही लगायतले वितरण गरेका थिए ।