काठमाडौँ । बाढीका कारण अवरुद्ध भएको खानेपानीको आजदेखि नियमित सुरु हुने भएको छ । बाढीका कारण काठमाडौँका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने खानेपानी मन्त्रालयले जनाएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पुर्याएका ठाउँमा आइतबार अनुगमन तथा निरीक्षण गरी खानेपानी आपूर्तिका लागि आवश्यक कार्य तत्काल गर्न निर्देशन दिएका थिए । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलका अनुसार आजबाट बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्ने तयारी भएको हो । भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिनेछ केयुकेएलको भनाइ छ ।
यसैगरी, ललितपुरको फर्पिङ जलविद्युत् गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानी आपूर्ति असहज भएको छ । काठमाडौँको महाङ्काल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले मर्मतसम्हारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए। विद्युतीय उपकरणमा समस्या आएका कारण पूर्ववत् अवस्थामा नियमित पानी आपूर्तिमा समस्या भएको जनाइएको छ ।