काठमाडौँ । ओमनलाई ३७ रनले पराजित गर्दै नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज पहिलो जित रेकर्ड गरेको छ । आइतबार राति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको हो ।
क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे ।
ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो ।
त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो । नेपालले अब तेस्रो खेल मङ्गलबार क्यानडासँग खेल्नेछ ।