काठमाडौं खबर अशोज १२, २०८१
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण काठमाडौं उपत्यकामै समेत ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयहरूका अनुसार दिउँसो साढे २ बजेसम्म मात्रै ३० जनाको ज्यान गएको छ ।
शनिबार दिउँसो साढे १ बजेसम्म १६ जनाको मृत्यु भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार, जिल्लाका विभिन्न स्थानबाट ११ जना बेपत्ता भइरहेको छन् । उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको उनले बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँमा बाढी पहिरोमा परेर नौ जनाको ज्यान गएको छ भने छ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये ५ जना पहिरोमा पुरिएका र १ जनालाई खोलाले बगाएको हो । त्यस्तै भक्तपुरमा बाढी र पहिरोमा परी छ जनाको ज्यान गएको छ ।
त्यसैगरी काठमाडौँमा चार र भक्तपुरमा एउटा घर पहिरोले बगाएको छ। अहिलेसम्म उपत्यकामा १२ सय ४४ घर डुबानमा परेका छन्। काठमाडौँ, ललितपुर र भक्तपुरका हजारौँ घरमा पानी पसेको छ।